FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रम मेन्छयायेममा सुभारम्भ

मेन्छयायेममा १ सय ७८ ले एक सय दिनसम्म रोजगारी पाउने

मेन्छयायेम गाउँपालिकाले २०७७ फाल्गुण ११ गतेबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गरेको छ । मेन्छयायेम गाउँपालिकाको वडा नं. ३ र ४ बाट शुरू गरिएको रोजगार कार्यक्रमको गाउँपालिकाका अध्यक्ष एवं प्रधानमन्त्री रोजगार कार्यक्रमको निर्देशन समिति संयोजक यादव बहादुर खापुङ्गले ब्यानर पढेर कार्यक्रमको सुभारम्भ गर्नुभयो ।

उद्घाटनका अवसरमा अध्यक्ष खापुङ्गले रोजगार आम नागरिकको संवैधानिक अधिकार भएको बताउँदै नागरिकको अधिकार र आवश्यकता पूरा गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभये । उहाँले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनलाई रोजगारीसँग जोडेर समृद्धिको यात्रालाई अगाडि बढाउन गाउँपालिका योजनाबद्ध ढङ्गले अगाडि बढेको बताउनुभयो ।

मंगलबाट सुभारम्भ भएको कार्यक्रम भोली मिति २०७७ फाल्गुण १२ गते मेन्छयायेम गाउँपालिकाको १ र २ नं. वडा कार्यालय र २०७७ फाल्गुण १३ गते मेन्छयायेम गाउँपालिकाको ५ र ६ वडा कार्यालयमा सुभारम्भ हुने मेन्छयायेम गाउँपालिकाका रोजगार संयोजक देबेन्द्र बस्नेतले जानकारी दिनुभयो । रोजगार कार्यक्रम अन्तरगत मेन्छयायेम गाउँपालिकाका १ देखि ४ नं. वडा कार्यालयसम्म २६/२६ जनाको दरले र ५ र ६ वडा कार्यालयमा क्रमश: ३४ र ४० गरी १ सय ७८ जनाले एक सय दिनसम्म रोजगारी पाउने संयोजक बस्नेतले बताउनुभयो ।

रोजगारीका लागि गाउँपालिकामा ५ सय १७ जनाले आवेदन दिएको उहाँको भनाइ छ । उद्घाटन समारोहमा संयोजक बस्नेतले राष्ट्रले लिएको रोजगार कार्यक्रमलाई सार्थक बनाउने दायित्व स्थानीय तहलाई आएको बताउँदै यसबाट लाभान्वित हुन सबैलाई आग्रह गर्नुभयो । उहाँले आर्थिक वर्ष २०७८।०७९ का लागि पनि रोजगारीमा संलग्न हुने सूचीकृतका लागि फारम भर्न सबैलाई आग्रह गर्नुभयो ।

यसैबीच मेन्छयायेम गाउँपालिकास्थित प्रहरी चौकी इन्चार्ज कूलप्रसाद पाण्डेले स्थानीय सरकारमार्फत सुभारम्भ भएको प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय स्तरमा रोजगारीको माध्यम रहेको उल्लेख गर्दै लागू औषध तथा मदिराजन्य निषेध गरी कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो ।

यस्तै मेन्छयायेम गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष एवं प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तरगत रहेको निर्देशन समितिका सदस्य विनयकुमार लिम्बू र मेन्छयायेम गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष लिलाकुमार लिम्बूले इमान्दारीपूर्वक काम गर्न सबैलाई निर्देशन दिनुभयो ।

मेन्छयायेम गाउँपालिका ४ नं. वडाध्यक्ष लिलाकुमार लिम्बूको अध्यक्षतामा भएको कार्यक्रम मेन्छयायेम गाउँपालिकाका अध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष यादबहादुर बहादुर खापुङ्गको प्रमुख आतिथ्यतामा, मेन्छयायेम गाउँपालिका ३ नं. वडाध्यक्ष विनयकुमार लिम्बूको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । मेन्छयायेम गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक देबेन्द्र बस्नेतले रोजगार कार्यक्रमको औचित्य तथा उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन मेन्छयायेम गाउँपालिका वडा नं. ४ का कर्मचारी मातृकाप्रसाद दाहालले सञ्चालन गर्नुभएको थियो । यसैबीच कार्यक्रमको प्रभावकारिता, नियमित अनुगमन तथा सहयोगका लागि राजकुमार लिम्बूसमेत चयन हुनुभएको छ ।

सरकारले २०७५ सालमा पाँच वर्षमा बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने लक्ष्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरेको हो । बेरोजगारलाई स्वदेशमै सम्मानजनक रोजगारी दिने र यदि दिन नसकेमा निर्वाह भत्ता उपलब्ध गराउनका लागि यो कार्यक्रम शुरू गरेको हो ।

तस्वीर : सूचना प्रविधि शाखा मेन्छयायेम गाउँपालिका

आर्थिक वर्ष: