FAQs Complain Problems

मेन्छयायेममा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ

मेन्छयायेम गाउँपालिकामा आजबाट चालू आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू भएको छ । कार्यक्रममा आबद्ध सूचीकृत बेरोजगारीहरूमध्येबाट छनौट भएका बेरोजगार व्यक्तिहरूलाई अनुशिक्षण गर्दै कार्यक्रम प्रारम्भ भएको मेन्छयायेम गाउँपालिका रोजगार संयोजक देबेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

मेन्छयायेम गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष विनयकुमार सुब्बा र वडा नं. ४ का वडाध्यक्ष कविन्द्रकुमार लिम्बूको आतिथ्यतामा वडा नं. ३ र ४ का छनौट भएका बेरोजगार व्यक्तिहरूलाई वडा नं. ३ को कार्यालयमा संयुक्त रूपमा अनुशिक्षण गरिएको थियो । अनुशिक्षण कार्यक्रम गाउँपालिकाका ६ वटै वडामा क्रमशः सञ्चालन गरिनेसमेत रोजगार संयोजक बस्नेतले जानकारी दिनुभयो । उहाँले बेरोजगार व्यक्तिहरूले रोजगार पनि पाउने र गाउँपालिकाको विकास निर्माणको अभियानमा पनि सहयोग हुने भएकाले यस कार्यको विशेष छलफल पश्चात शुरू गरिएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरूवाती चरणबाटै सडक मर्मत, सिँचाइ तथा पदमार्गलाई प्राथमिकतामा राखेर रोजगारी प्रदान गरिरहेको छ ।

चालू आर्थिक वर्ष २०७९/८० का लागि ६ वटै वडामा संकलन गरिएको बेरोजगारको सूचीमा ४ सय १७ सूचीकृत भएको उहाँको भनाइ छ । सूचीकृतमध्येबाट अति विपन्न तथा गरिब परिवार नै बेरोजगार भएकालाई प्राथमिकतामा राखिएको रोजगार संयोजक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार रोजगार कार्यक्रम अन्तर्गत वडा नं. १, २, ३ र ४ वडामा २०/२० जना र वडा नं. ५ र ६ मा २४/२४ जना गरी १२८ जनाले रोजगारी पाउने छन् ।

मेन्छयायेममा सामुदायिक विकास निर्माणका लागि यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध सूचीकृत बेरोजगारीहरूले काम गर्ने रोजगार सहायक सन्तोष भुजेलले बताउनुभयो । उहाँले यसपटक पनि पालिकाभित्र रहेको सडक मर्मतको काम प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत अगाडि बढाइने योजना रहेको जानकारी दिनुभयो ।

प्रत्येक नागरिकको मौलिक हक अन्तर्गत बेरोजगार व्यक्तिहरूलाई कम्तिमा १०० दिन रोजगारी दिने उद्देश्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम २०७५ सालबाट शुरू भएको थियो ।

आर्थिक वर्ष: